विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पाँचथर र ताप्लेजुङ जिल्ला भएर बहने काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि उक्त प्रसारण लाइन आवश्यक र महत्वपूर्ण मानिएको छ ।
आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारदेखि सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण सकिएको हो । तेस्रो खण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको हो । त्यस्तै आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सवस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।
निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत्् आयोजनाको विद्युत्् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीको व्यापारिक उत्पादन शुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । प्रवद्र्धकले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी विद्युत् जोड्नुपर्नेछ ।
आर्थिक वर्ष २०६३÷६४मा शुरु भएको आयोजना निर्माणका लागि ज्यागुअर ओभरसिज एण्ड एष्टर जेभी सँग २०६८ साल भदौ २३ गते ठेक्का सम्झौता भएको थियो । कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बंैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।