सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्नुअघि प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको बताईएको छ । यसअघि पूर्व एमालेका नेताहरु पनि अलग्गै बैठक बसेर जिम्मेवारीबारे छलफल गरेका थिए ।
पूर्व एमालेतर्फकाले बिहीबार साँझ, शुक्रबार र शनिबार आफ्नो पूर्ववत समूहमा छलफल गरे अनुसार संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भैसकेको छ ।
त्यस्तै पार्टीमा स्कुलिङ विभाग कसले लिने भन्नेमा भने विवाद जारी छ । ओलीले इश्वर पोखरेललाई र प्रचण्डले नारायणकाजी श्रेष्ठलाई अगाडी सार्नु भएको छ भने मिलिसकेको छैन । उक्त विषय प्रति सबैको चासो रहेको बताईन्छ ।
सचिवालय बैठक आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा जिम्मेवारी टुंगो लगाउने बताइएको छ ।
एक बर्ष भन्दा लामो कसरत पछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले साउन एक गते राती पार्टी एकताको बाँकी काम टुंगो लगाउनुभएको समाचार महासचिब बिष्णु पौडेलले प्रकाशमा ल्याउनु भए थियो । पार्टी एकता टुंगो सम्बन्धि सहमति सचिवालय बैठकबाट पारित भएपछि मात्र औपचारिकता पाउने बताए संगै साउन ५ गते सचिवालयको बैठक बोलाइएको थियो ।