नेपालमा ‘ल्याण्ड लक्ड’ को भावना नभई ‘ल्याण्ड लिङ्क्ड’ हुनुपर्ने
Published on 2019-07-19
0 Comments
काठमाडौँ, साउन ३ ।
शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष तुल्याउँदै वर्षौंदेखि समाधान नभएका समस्या वार्ता र संवादका माध्यमबाट हल हुनुपर्नेमा उच्च राजनीतिक नेतृत्वले धारणा व्यक्त गर्नुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले हिजो ललितपुरमा गरेको ‘नेपाल–भारत सम्बन्ध : उन्नयन र आयाम’ विषयको प्रवचनमा भारतका सामु सानो, ‘ल्याण्ड लक्ड’ को भावनाले होइन ‘ल्याण्ड लिङ्क्ड’ भएर चीन र भारतले हासिल गरेको आर्थिक समृद्धिलाई पछ्याउनुपर्ने अभिमत सुस्पष्ट ढङ्गले प्रस्तुत भयो ।
भारतको भौगोलिक विशालता र भूपरिवेष्टित अनि सीमित भूगोल भएको सानो नेपालले आकारको लघुताभास र मनोविज्ञानबाट मुक्त भएर विश्वकै उदीयमान भीमकाय अर्थतन्त्र भएका दुई छिमेकीसँग भूसम्पर्कको माध्यमलाई अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वासमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ, सुमधुर एवं व्यापक बनेको बताउँदै एकअर्काका संवेदनशीलता बुझ्ने र आफ्नो भूमि एकअर्काकाविरुद्ध प्रयोग हुन नदिन प्रयोग हुन नदिनेमा नेपाल सचेत रहेको बताउनुभयो । पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माण, डुबान समस्या, सीमा व्यवस्थापन, सीमापार आपराधिक गतिविधि नियन्त्रणलगायत विषय निरुपणमा साझेदारी भइरहेको जानकारी दिँदै उहाँले आपसी मामिलाका टुङ्गिन बाँकी रहेका मुद्दा संवादको माध्यमबाटे समाधान गरिने बताउनुभयो ।
मन्त्री ज्ञवालीले नेपालको सामाजिक–आर्थिक विकासका साथै समृद्धितर्फको यात्रामा भरपर्दो छिमेकी भारतसँगको सहकार्यमा जोड दिइएको बताउनुभयो । उहाँले दुई मुलुकबीचको पर्यटन विस्तार तथा व्यापार असन्तुलन घटाउन नेपालले चाहेको बताउनुभयो ।
त्यस्तै नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सात दशकयता दुई देशबीच घनिष्ठ सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै घनीभूत तुल्याउन भारत प्रतिबद्ध रहेको बताउनुभयो । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि नेपालले आर्थिक विकासमा फड्को मार्ने बताउँदै ‘समृद्ध नेपाल खुशी नेपाली’ को परिकल्पना साकार पार्ने वर्तमान सरकारको लक्ष्यलाई भारतले हरतरहले सघाउने उहाँको भनाई छ ।