'बाहुबली' सिरिजबाट आफ्नो लोकप्रियतालाई चुलीमा लगेका प्रभास स्टारर नयाँ सिनेमा 'साहो' को ८ मिनेट लामो फाइटको दृश्यका लागि ७० करोड भारू खर्च भएको भारतीय मिडियाहरूले जनाएको छ । समाचारका अनुसार ८ मिनेटको सो दृश्य खिच्न लगभग बलिउडको एउटा हाइबजेट सिनेमा बनाउन लाग्ने पैसा खर्च गरिएको छ। कुनै पनि भारतीय सिनेमाको एक्सनका लागि खर्च गरिएको यो रकम आजसम्मकै ठूलो धनराशी हो ।
आवुदावीमा खिचिएको सो एक्सन दृश्यका लागि ७० करोड भारू खर्च भएको बताउदै सिनेमाको एक्सन सम्पूर्णरूपमा हलिउडको एक्सन समूहले कोरियोग्राफ गरेको बताईएको छ । 'बाहुबली' जस्तो भब्य सिनेमामा काम गरेका प्रभासको 'साहो' घोषणा भएदेखि नै चर्चामा छ। साहोको एक महिना अगाडी रिलिज भएको टिजरले सिनेमा हलिउड शैलीमा बनाइएको देखाएको छ।
सुजिथको निर्देशनमा बनेको सिनेमा बनाउन कुल ३०० करोड भारू रकम खर्च भएको बताइएको छ । सिनेमा हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुनेछ। यो सिनेमा एकैसाथ यी ३ भाषामा खिचिएको हो।
प्रभासको साथमा श्रद्धा कपुर, चंकी पाण्डे, महेश मांजेकर, अरूण विजय तथा मुरली शर्मा आदिको मूख्य भूमिका रहेको सिनेमा १५ अगस्टमा रिलिज हुँदैछ। 'बाहुबली' पछि प्रभास अभिनित पहिलो सिनेमा भएकाले पनि दर्शकहरूका लागि यो सिनेमा विशेष प्रतिक्षित सिनेमा बनेको अनुमान छ। एजेन्सी