सरकारको एक बर्षे मूल्याङ्कनको साता सकिएको छ । दोश्रो बर्षको यात्रा शुरु भएको छ । प्रति-पक्षपंक्तिका सवै र बाध्यताले चित्त बुझाएर बस्ने देखि छाक काटेर गुजारा चलाउने सम्मले सरकार परिवर्तनको सपना कसैले ब्यक्त गरेको छैन । पांच वर्षको भारी पाँचै बर्ष बोक्न सक्ने होवोस भनेर आशिर्वाद नै दिएको देखियो । सिद्धिने र सिद्ध्याउने गरि सरापेको सुनिएन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार चलाइरहेको छ ।सरकारका दुइवटा वाचा थिए I १) देश र जनतालाई समृद्ध र सुखी बनाउने २) पार्टीलाई पनि एकताबद्ध र नेत्रित्वशाली बनाउने । एक बर्ष बित्यो -दुइवटै बाचा पूरा हुन् सकेका छैनन् । देश समृद्ध बानाउन त समय लाग्ला । दुइ चार दिनमा सकिने होइन भनेर बहाना पनि खोज्न सकिएला । तर आफैंले तय गरेको पार्टी एकताको तिथिमिति किन बिथलियो त् ? यसको बहाना कसरी खोज्ने ? यो निर्धारित मितिलाई खेलाँची मान्दै केही कारण देखाएर बहाना बनाउन सकिने कुरा होइन । किनभने निर्वाचनमा जनमत लिइंदा एकता गर्दै समृद्धिका लागि काम गर्ने भनेर सपना वांडीएको थियो ।
सपना जति सजिलोसंग देखियो सपना कसरी बिथलिन पुग्यो भन्ने प्रश्नको उत्तर त्यस्तो सजिलो देखिएन ।एकता प्रकरणलाइ मौकैमा सम्हाल्ने क्षमता राखिएन भने अरु धेरै प्रकरणहरु जन्मदै जान सक्ने सम्भाबना बढ्दै गएको छ -। बरु अहिले के पो देखियो भने- सरकारले ठ्याक्कै एक बर्ष पूरा गरेको सातामै पार्टी एकताको कार्यदल कार्य सम्पादनमा सफल हुन् नसकेको खवरले सनसनी मच्चायो । देश र जनताको लागि भन्दा पनि यो कुरा स्वयम् सत्तारुढ दल र सरकारका लागि सुखद बनेन ।
एकता पहिलेको एमाले र एमाओवादी विच हुनु थियो ।हुन् सकेन I माओवादी जसरी शान्ति सम्झौतामा आएर संबिधान, निर्वाचन, संसद र सरकारमा सामेल भयो त्यो भन्दा पनि अर्को एक फड्को मारेर कम्युनिष्ट एकताको ध्रुविकरणमा अनुबन्धित भयो, त्यसलाई महत्वपूर्ण र दूरगामी मानियो ।एमाले बाम वाम राजनीतिमा उदार दल मानिन्थ्यो, ध्रुवीकरणमा सामेल भो- त्यसलाई पनि राम्रै मानियो ।
जनताले पत्याए ।भोट खसाले । एउटा उल्लेख्य कुरा पार्टीमा सह-नेतृत्व र सरकारमा महत्वपूर्ण पदको रणनीति लिदै अहिले पुरानो माओवादी प्रभावकारी मात्र होइन नया दलभित्र शक्तिशाली पनि बन्न पुग्यो ।यो शक्ती प्रशारणले ध्रुविकरण भित्र निकै तापक्रम बढायो ।सेलाउने भन्दा फरक फरक डिग्रीको उर्जा थपिदै गए । त्यो उर्जाले जे परिणाम निकाल्नु थियो त्यो निकाल्न सकेन ।सरकारमा प्रभावशाली बनेका एकथरी पूर्व माओवादीसंगको एकताले बिकास र समृद्धिमा मदत पुग्ने बिश्वास धेरैले गरेका थिए I त्यो पनि देखिएन। ध्रुबिकरणमा विभाजित पक्षहरु विच आ- आफ्ना मानिस र आफ्ना ठाउँ खोज्दा खोज्दै वाटो बिराए जस्तो भो।परिस्थति हसरल्ल देखियो।
यसै गरि वाम शक्ति भित्रकै पहिले देखिका अर्काथरी माओवादी विभिन्न दलमा विभाजित भएर राष्ट्रिय राजनीतिको फरक फरक भूमिकामा छन् । राजनितीमा सानो र झिनो अनि भीमकाय र निष्कन्टक कोही हुँदैन - परिस्थिति र भवितव्यले ठूलो बनाउछ भन्ने कुरा पनि उत्तिकै सावित हुने गरेको छ ।अहिले फेरी राजनीतिक असन्तुष्टी हिँसावाट देखिन शुरु भएको छ ।
जनमतको उर्जालाई हिंशाको भय र असन्तुष्टीको आक्रोशले उछिन्यो भने स्थापित मूल प्रवाहको राजनीति निरिह हुन् सक्छ,। सत्तारुढ दलका सबै पक्षले दोश्रो बर्ष प्रवेशको यात्रा शुरु गर्दा जनमतको यो संबेदनशीलता र आफ्नो दायित्व बुझ्न सके भने सहमती र समझदारीको बिनम्र राष्ट्रिय राजनीतिले आफ भित्र मात्र होइन सवैसंग एकताबद्ध राजनीति गर्न सकिन्छ र कालान्तरमा त्यो कति महत्वपूर्ण हुन्छ त्यो समयले प्रमाणित गर्दै लैजाने छ । यसको सट्टा सत्तारुढ दल छरपष्ट भैरहंदा अर्को तर्फ हिंसाका छिटा संगसंगै ठूला ठूला दलहरु विच देखिएका अन्तर्द्वन्दहरुले नेपालमा फेरी राजनीतिक उकुसमुकुस देखिन थालेको छ I यो राम्रो लक्षण होइन ।
अहिलेको सरकार भाग्यमानी सरकार हो I तै पनि सम्हालिन किन गाह्रो ? सजिलो र खुकुलोसंग बहुमत प्राप्त गरेको सरकार छ । प्रतिपक्ष भलाद्मी हुन् बाध्य हुनुपर्ने अवस्था छ । सरकारलाइ अप्ठेरो परेर आफ्नो बाचाउ गर्न झर्कन, ठस्कन र गाली गलौज गरेर उफ्रनुपर्ने अवस्था पनि छैन । भनेपछि उकुसमुकुस के का लागि ? हातमा नयाँ संबिधान छ । आंफुले चाहे अनुसारको कानून बनाउन सक्ने आधार छ । त्यही कानूनको सदुपयोग गरेर बिकास गर्न सकिने मौका छ ।त्यो बिकास र सामाजिक न्यायले सबैलाई खुशी बनाएर लोकप्रिय बन्न सक्ने ठाउँ छ । त्यसो भए फेरी उकुसमुकुस किन ?
नजिकै निर्वाचन पनि छैन - संक्रमण पनि छैन - प्राकृतिक प्रकोप पनि छैन । आर्थिक कंगाली पनि छैन - छिमेकीहरुको दोषी दृष्टि पनि छैन - आर्थिक नाकाबन्दीको अबस्था पनि होइन ।सामाजिक रुपमा जातपात, क्षेत्र तथा बिभिन्न खाले विभेदका विषमता र आन्तरिक कलह वा अन्तर्द्वन्द केहि पनि छैन ।लौ त भन्ने हो भने आधुनिक नेपालको राजनीतिक कालखण्डमा यति शान्त र शालीन, यति भद्र र बिनम्र, यति आशावादी र आज्ञाकारी तथा इतिहास देखिको दौडधूपवाट थकाइ मारेर बसेको जन-मनस्थिति कहिल्यै थिएन I यस्तो गद्दामा बसेको जस्तो कतै वाट केही नबिझाउने परिस्थितिमा पनि सरकारको गाडी चल्ने र चलाउने बनाउन किन उकुसमुकुस भएको होला ? कारण खोजिहाल्नु जरुरी छ ।
किन बेपारी, कर्माचारी, पेशागत ब्यबशायी मात्र किन स्वयम् आफ्ना पार्टी भित्रका कार्यकर्ताहरुले किन सरकारलाई नटेरेका होलान ? भन्ने प्रश्न बाहिर पोखिएको छ ।यी प्रश्न सोहोर्ने इमान्दार र कूशल, नैतिक र दूर दृष्टि भएको सरल र बिनम्र, अरुले दुख पोख्दा आफ्नो दुखको भारी देखाएर जनतालाई नलखेटने, सरकारलाई र देशलाई मायाँ गर्ने मन्त्री को फेला पर्ला त ? भनेर प्रधामन्त्रीले सोच्न थाल्नु भएको छ रे भन्ने कुरो चर्चामा आउँन थाल्यो । कुरो कति साँचो हो त्यो जवाफ दिन सक्ने र प्रधानमन्त्रीलाई सजिलो पार्ने शक्तिशाली राजनीतिक मर्मज्ञ प्रकटमा देखिएको छैन । भएर नदेखाइएको पनि हुन् सक्छ । वा प्रधानमन्त्रीले त्यस्तो गरि कसैलाई नहुर्काउनु भएको पनि हुन् सक्छ । संबैधानिक, राजनीतिक वा सरकारी कार्यकारिणी दृष्टिले प्रधानमन्त्री बाहेक अर्को ठूलो शक्ति देशमा छैन ।प्रधानमन्त्रित्वको शक्ति सम्बर्धनको जिम्मा लिनेले अत्ममिमाम्सा गर्ने बेला भएको छ I
अमेरिकी राष्ट्रपतीय प्रणालीको शक्तिसम्प्रभूता जस्तै गरी नेपालका प्रधान्मत्रीलाई शक्तिशाली बनाइएको छ । पार्टीहरुको बिबाद, कार्यकर्ताहरुको द्वन्द, नेतृत्वपंक्तिको रिस र आवेग, प्रशासनको अक्षमता टकटक्याएर छारो उड़ाउने स्थान प्रधानमन्त्रीको कार्यालय वा सचिवालयलाइ छैन । न त अहिले प्रतिपक्ष, अबज्ञाकारीहरु वा समाजका बर्गीय समूदायको टिका टिप्पणी गरेर बस्ने वेला नै छ I जुन कुरामा अहिले सरकार ब्यस्त भएको देखिन्छ
राजनीतिमा आ-आफ्नो अवसर सबैले खोज्दछन । राज्यमा समान अवसर समान रुपले दिन सक्नु र नसक्नु त् प्रधानमन्त्रीको उदारमना र प्रजानान्त्रिक स्वभावको कुरा हो, कानूनी रुपले कार्यकारी अधिकार बाँड्नै पर्छ भन्ने बाध्यता छैन ।त्यो स्वाधिकारको कुरा हो । राष्ट्रियता, राष्ट्रिय सुरक्षा, बिकास र शुशासनको जिम्मा लिनेको अधिकार र व्यक्तित्वको सम्मान गरे मात्र देशको सम्मान हुन्छ । किम्बा, त्यो शक्ति स्वयं र शक्तिको सम्मान र व्यक्तित्व सुरक्षाको जिम्मा लिनेहरुले पनि आफ्नो सम्मान र साझापनको ख्याल भने राख्न सक्नुपर्छ । तर, संविधानले ब्याख्या गरेर प्रदत्त गरेका अधिकारमाथि भने कार्यकारिणीले टूलुक्क पनि आँखा लगाउन पाउंदैन । त्यो पनि कतै भै रहेको छ कि बिचार गर्नु पर्यो ।
यसो हुँदा हुँदै पनि, कहिलेकाहीं प्रधानमन्त्रीको शक्ति छचल्किएर दुरुपयोग हुँदा अरु भन्दा पनि ठूला ठूला बिकृति बढेका उदाहरण पनि छन् ।त्यसैगरी, प्रधानमन्त्रीले पनि कार्यकारिणी अधिकारलाई पार्टीकरण र पार्टी भित्र निहित अधिकारलाई कार्यकारिणी भित्र अल्झाउने बल्झाउने गर्दा पनि धेरै किसिमका राजनीतिक जटिलता निम्तिएका छन् ।पहिलेदेखि यस्ता उदहारण सरकारमा देखिने गरेका छन् ।जुन कारणवाट पुराना सरकार विफल भए त्यही कारण अहिले दोहोरिनु जरुरी छैन ।वरु आबश्यकता पर्दा एक व्यक्ति एक पदको सिद्धान्तलाइ अबलम्बन गरियो भने आ- आफ्नो पदलाई इमान्दारीपूर्वक न्याय दिन सकिएला । नेकपा पार्टी भित्र शायद यसै कुराको द्वन्द उम्रदै छ ।
राजनीतिक द्वन्द खरवारीको आगो जस्तै हो ।त्यसको लप्का कहाँ सम्म पुग्छ ठेगान हुँदैन। सर्वशक्तिशाली जिम्मेवारी बहन गर्नु भएका प्रधानमन्त्रीले आफ्नो दोश्रो वर्षको यात्रा शुरु गर्दा जुन जुन अपसकुनहरु देखिएका छन् त्यसको स्वस्ति शान्ति गर्नु बेश हुन्छ भन्ने कुरा पार्टीको हित मात्र होइन त्यो भन्दा माथि देशको हित चाहने सबैले ब्यक्त गरिरहेकै छन् ।प्रतिपक्ष वा अन्य पक्षका कुरा काटेर वा मनोगत विधि बनाएर राजनीति गर्ने पुस्ता यो होइन भन्ने कुरा उहाँका सुरक्षकहरुले हेक्का राखिदिए झन् बेस । झन् त्यसमा पनि भ्रष्टाचारको भूमरी सिर्जना भएर जुन लज्जाजनक अवस्थामा बेइज्जत गरिदै छ । त्यसले सरकारका राम्रा कामहरु पनि धमिलो रुपमा प्रस्तुत भैरहेका छन् । सरकारलाई अनावस्यक रुपले सरकार आफैंले वा अरु कसैले पनि खुइल्याउनु पनि राम्रो होइन I जति कन्याउने र चिथरने परिस्थतिको बिकास गरीएमा आखिर आफ्नै देश र सरकारको इज्जत र राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिष्ठाको कुरा एक तिर छ भने - धेरै आफन्तको मोह र माया अनि पदको आडमा देखाइने दम्भले सम्वृद्धि पनि ओझेलमा पर्दै जाने छ ।